बन्दबन्दीमा दलित समुदायमाथि कस्तो असर पर्‍यो ? समता फाउण्डेसनले सार्वजनिक गर्‍यो अध्ययन प्रतिवेदन

काठमाडौं । समता फाउण्डेसनले कोभिड–१९ तथा बन्दाबन्दीका कारण दलित समुदायमा परेको प्रभावका बारेमा पाँच महिना लगाएर गरिएको अध्ययन प्रतिवेदन एक अनलाईन कार्यक्रमकावीच सार्वजनिक गरेको छ ।

यो अध्ययनलाई मुख्यगरी ४ तरिकाले विश्लेषण गरिएको छ । दलित समुदायमा कोरोना भाइरस तथा बन्दाबन्दी सम्बन्धी ज्ञान, व्यवहार वुझाई र प्रवृति कस्तो रहेको छ ? कोरोना भाइरसका कारण गर्नु परेको बन्दाबन्दीले दलित समुदायको जीविकोपार्जनमा कस्तो प्रभाव पारेको छ ? दलित समुदायले बन्दाबन्दीको समयमा कस्तो प्रकारको स्वास्थ्य सम्बन्धी समस्या भोग्नु परेको थियो तथा सरकारले गरेका पहलकदमीहरु कति दलितमैत्री बनेका छन भनि विश्लेषण गरेको थियो ।

यो अध्ययनमा ७ प्रदेशका ७७ जिल्ला अन्तर्गतका ७५३ स्थानीय तहका १५०० जना दलित समुदायका उत्तरदाताहरूसँग टेलिफोन तथा अनलाई सर्वेक्षण विधिबाट गरिएको थियो । यसका साथै, ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरू, प्रदेश सांसदहरू, तथा स्थानीय दलित तथा गैरदलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूगरी ३५ जनासँग अन्तरवार्ता लिइएको थियो ।

साथै, दलित तथा गैरदलित समुदायबाट प्रतिनिधित्व हुनेगरी ११ वटा नागरिक समाजका प्रतिनिधिहरुसँग अन्तरवार्ता गरिएको थियो । कोरोना भाइरस सम्बन्धी ज्ञान, व्यवहार, अभ्यास, वुझाइ तथा दलित जनमानसमा यसको प्रभावका बारेमा जानकारी लिनुका साथै विश्वमहामारी तथा बन्दाबन्दीको समयमा सरोकारवालाहरुको भूमिका र उनीहरुको कार्यगत समस्याका बारेमा अध्ययन गर्न, कोरोेना भाइरस जस्तै भविश्यमा आउने महामारी सम्बन्धी दलितमैत्री नीति निर्माणको लागि पैरवी गर्ने मुख्य उद्धेश्य रहेको थियो ।

अध्ययनले दलित समुदायमा स्वास्थ्य तथा आर्थिक कार्यक्रमहरुको पहुँच कम रहेको र सरकारले वितरण गरेको राहात कार्यक्रमहरु पर्याप्त नभएको देखाएको छ । त्यसैगरि दलित समुदायमा कोरोनाका कारण लगाईएको बन्दाबन्दिको क्रममा स्वास्थ्यसँगै आर्थिक र खाद्यान्न संकट परेको देखिएको छ । अध्ययन सर्वेक्षणमा सहभागी मध्ये ४५ प्रतिशतले बन्दाबन्दीको समयमा रोजगारी गुमाएको बताएका छन् भने १८ प्रतिशतले राहत वितरणमा जातीय विभेद भएको बताएका छन् । यसैगरि दलित समुदायमा कोरोना सम्बन्धि पर्याप्त ज्ञान र सुचनाको अभाव देखिएको छ । यो अध्ययनमा ६५ प्रतिशत पुरुषको सहभागीता थियो भने ३५ प्रतिशत महिलाहरुको सहभागीता रहेको देखिन्छ । त्यसैगरी, ३१ देखि ४५ वर्ष उमेर समुहका उत्तरदाता ४३ प्रतिशत रहेका थिए भने २ प्रतिशत उत्तरदाता ६० वर्ष भन्दा मथिको उमेर समुहका रहेको देखिन्छ ।

यस्तो छ अध्ययनको निष्कर्षहरु : 

१) कोभिड–१९ सम्बन्धी चेतनाको स्तरः

अध्ययनमा सहभागी ८७ प्रतिशतले कोरोना भाइरस संक्रमणको जोखिमको बारेमा जानकारी भएको बताएका थिए भने १३ प्रतिशत दलित समुदाय भने संक्रमण जोखिमका सम्बन्धमा अनविज्ञ रहेको देखिन्छ ।

२) कोरोना भाईरसबारे जानकारीको श्रोतः

झण्डै २३ प्रतिशतले टेलिजिन मुख्य श्रोत बताएका छन् भने १९ प्रतिशतले रेडियो, १९ प्रतिशतले परिवार आफन्तलाई जानकारीको मुख्य श्रोत मानेका छन, १५ प्रतिशतले सामाजिक संजाल, ११ प्रतिशतले स्थानीय सरकार र प्रतिनिधि र ६÷६ प्रतिशतले पत्रपत्रिका र समाजका अगुवाहरुबाट सुचना प्राप्त गरेको जनाएका थिए ।

३) खाद्यान्न भण्डारको अवस्थाः

४९ प्रतिशतले २/३ हप्ता खाद्यान्न मात्र पुग्ने रहेको बताएका छन् । एक हप्तासम्म मात्र खाद्यन्न भण्डार भएको संख्या ४० प्रतिशत रहेको देखिएको छ त्यसैगरी, ८ प्रतिशत उत्तरदाताहरुसँग खाद्यन्न भण्डारण नभएको बताएका थिए भने १ प्रतिशतले मात्र ६ महिना सम्म खाद्यान्न पुग्ने बताएका थिए ।

४) बन्दाबन्दीको कारण परेको आर्थिक सङ्कटः

यस अध्ययनमा भाग लिएका १५०० उत्तरदाताहरुमध्ये ८२ प्रतिशत उत्तरदाताहरुले आर्थिक संकट परको वताएका थिए भने ११ प्रतिशत उत्तरदाताहरुले आर्थिक संकट नपरेको वताएका थिए । तुलनात्मक रुपमा हेर्ने हो भने लुम्बिनी प्रदेशमा सवैभन्दा बढी, त्यसपछि क्रमस गण्डकी प्रदेश, कर्णाली प्रदेश, १ नं र प्रदेश नं २ का उत्तरदाताले आर्थिक सङ्कट परेको बताएका थिए । बाग्मती प्रदेशमा अन्य प्रदेशभन्दा कम आर्थिक संकट परेको अध्ययनले देखाएको छ ।

५) बन्दाबन्दीको कारण रोजगारी गुमाएको तथ्याङ्कः

कुल उत्तरदाताहरु मध्ये ४५ प्रतिशतले आफुले गर्दै आएको रोजगारी गमाउनु परेको बताएका थिए ।
प्रदेश अनुसार हर्ने हो भने कर्णाली प्रदेशमा सवैभन्दा बढी ६५ प्रतिशत, प्रदेश २ मा ५० प्रतिशतले रोजगारी गुमाएको देखिन्छ । यसका साथै गण्डकी प्रदेश र प्रदेश १ मा ५० प्रतिशत, प्रदेश ५ मा ४० प्रतिशत, सुदुरपश्चिममा ३६ प्रतिशतले र बाग्मती प्रदेशमा ३० प्रतिशतले रोजगारी गुमाएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?