गोर्खा वेल्फेयरद्वारा तीन करोड बराबरको सहयोग

गण्डकी । गोर्खा वेल्फेयर ट्रष्ट (जिडब्लुटी)ले कोरोना रोकथामका लागि तीन करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।

ट्रष्टले हालसम्म छ वटा प्रदेश र ३४ जिल्लाका ७० नगरपालिका एवम् गाउँपालिका अन्तर्गत २०४ स्थानमा विभिन्न सहयोग उपलब्ध गराएको छ । ट्रष्टद्वारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रम (आरडब्लुएसपी) का कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ महामारीको फैलावट रोक्न बेलायत सरकारको वैदेशिक सहयोग नियोगले ट्रष्टलाई झण्डै तीन करोड रुपैयाँ उपलब्ध गराएको उल्लेख छ ।

ट्रष्टले हालसम्म ६१ अस्पताल र स्वास्थ्य चौकी तथा ७६ स्थानीय तहका विभिन्न कार्यालयमा ती सामाग्री सहयोग गरेको जनाएको छ । ट्रष्टले ५६ आइसोलेसन तथा क्वारेन्टिन सेन्टरमा गरेको सहयोगले ५० हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित भएको उल्लेख गरेको छ ।

कोभिड प्रतिकार्य योजनाअन्तर्गत ट्रष्टले विभिन्न स्थान र निकायमा स्वच्छ खानेपानीको प्रबन्ध, पैदल सञ्चालित हातधुने उपकरण जडान, साबुन, पञ्जा, मास्क, फेससिल्ड, सेनिटाइजरलगायतका व्यक्तिगत सुरक्षाका सामाग्री (पिपिइ) का साथै डस्टविन, स्यानेनटरी प्याड, पर्सनल हाइजिन किट्सजस्ता सामानका साथै कोरोनाबारे सन्देशमूलक प्रचार सामाग्री निःशुल्क वितरण गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?