आगामी वैशाख ९ गते एकीकृत पार्टीको घोषणाः उपाध्यक्ष गौतम

काठमाडौँ, ३ चैत – नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् ।नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले बताए । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको बताए ।आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पु¥याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने , “२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।”पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो ।सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने उनको विश्वास व्यक्त गरे ।उनले आफूले बर्दियामा निर्वाचन हार्नुपर्ने कुनै कारण नभएपनि निर्वाचनमा पराजित भएको उल्लेख गरे । उपाध्यक्ष गौतमले भने , “पार्टी एकताको पहल गर्ने र दिनरात नभनी खटिने मैले निर्वाचनमा पराजित हुनुपर्ने कुनै कारण थिएन । तर प्राविधिक रुपमा मैले हारे । देशले जितेको छ ।”उपाध्यक्ष गौतमले विचारसहितको एकीकृत कम्युनिस्ट पार्टी बनाएर भावी पुस्तालाई आफूहरुले जिम्मा दिन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?