काठमाडौँ, २ चैत । प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ ।सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा (एमाले)का शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो ।भुसाललाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेपाली काँग्रेसका डिला संग्रौला (पन्त)ले प्रस्ताव प्रस्तुत गरे । संग्रौलाले संविधानको सफल कार्यान्वयनका लागि सरकार र प्रतिपक्षबीच सुमधुर सम्बन्ध आवश्यक पर्ने भएकाले काँग्रेसका भुसालले उम्मेदवारी दिएको बताए ।उनले सभामुख पदमा कृष्णबहादुर महरालाई काँग्रेसले समर्थन गरेको तथा उपसभामुखमा फरक फरक दलको उम्मेदवार हुनुपर्नेमा एमाले र माओवादी केन्द्र चाँडै एकीकृत हुने भएकाले पनि काँग्रेसको उम्मेदवारी सान्दर्भिक भएको दाबी गर्दै अंक गणितका आधारमा उपसभामुखमा भुसाललाई हराइए सदन अवरोध हुने खतरा बढ्न सक्ने बताए ।सो प्रस्तावमा काँग्रेसको समर्थन गर्दै देवेन्द्रराज कँडेलले जनताको विश्वासलाई जित्नका लागि सरकार विपक्षी मिलेर जानुपर्ने अवस्थामा मध्यस्थ भूमिका निर्वाह गर्न भुसालको उम्मेदवारी आवश्यक छ भने ।तुम्बाहाङफेलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गरे । उनले विद्यमान राजनीतिक अवस्थामा जनताको जनादेशका आधारमा जानुपर्ने भएकाले तुम्बाहाङफेलाई पार्टीले अघि सारिएको बताए ।गुरुङको प्रस्तावमा समर्थन गर्दै नेकपा (एमाले)का रवीन्द्रप्रसाद अधिकारीले तुम्बाहाङफे कानून व्यवसायीका साथै वाम आन्दोलनमा योगदान दिएको व्यक्ति भएको बताउँदै उनको नाममा सहमति गर्न आग्रह गरे ।दुई प्रस्तावमा छलफलपछि उपसभामुखको निर्वाचन हुनेछ ।राष्ट्रियसभामा प्रधानमन्त्रीको वक्तव्ययसैबीच राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्रतिनिधिसभाको बैठकमा युएस बंगला विमान दुर्घटनाबारे दिनुभएको सार्वजनिक वक्तव्य राष्ट्रियसभाको बैठकमा पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया