स्वेच्छिक अवकाश लिने कर्मचारीको संख्या १० हजार

काठमाडौँ, १ चैत – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको जनाएको छ ।गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको मन्त्रालयको स्वेच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाले बताए । जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको उनको भनाइ थियो ।प्रमुख रोकायाका अनुसार संकलित विवरणलाई अहिले पहिलेको सक्कल विवरणसँग रुजु गर्ने कार्य भइरहेको छ । उनले इकाइ शाखामा पाँच कर्मचारी भएकाले धेरैको संख्यामा आएको विवरणलाई रुजु गर्न करिब तीन महिना लाग्ने बताए ।सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो ।भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी चार सचिवसहित नौ हजार ६५६ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएको मन्त्रालयका उपसचिव रोकायाले बताए ।सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजना ल्याएको हो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीसवर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?