ललितपुर । ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपीलगरेका छन् ।
यही आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उनीहरुले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपील गरेका हुन् ।
हामीले हरिसिद्धिको मूल सडक कालोपत्र गर्न आवश्यक काम गर्ने भएकाले ठैवचोकबाट छिरेर महालक्ष्मी नगरपालिकाको सानागाउँ र इमाडोलको सडक भएर आवतजावत गर्न नगरवासीलाई अपिल गरेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले जानकारी दिए। उनले भने, “यदि मौसम परिवर्तन भई बाधा अवरोध भएमा कार्यको मिति तथा समय हेरफेर हुनसक्ने छ ।” हरिसिद्धिको साँघुरा क्षेत्र आठ मिटर सडक यथास्थितिमै कालोपत्र हुने भएको महर्जनले बताए ।
आउँदो बिहीवारदेखि आइतबारसम्मका लागि १० दिन सो सडक खण्ड बन्द गरिने भएकाले यसको साटो वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनले बताए । सो सडक खण्ड हुँदै गोदावरी नगरपालिका–१ गोदामचौर, २ विशङ्खु, नं ३ साविकको गोदावरी, नं ४ बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले दैनिक यात्रा गर्ने गर्छन् । हाल सो सडक खण्डमा एकतर्फी सवारीसाधन दैनिक चलिरहेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया