तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला

काठमाडौं । नेपालको चीनसँगको व्यापारिक तातोपानी नाका आगामी असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

मंगलबार सिन्धुपाल्चोकमा नेपाल र चिनियाँ पक्षबीच भएको द्वीपक्षीय बैठकले उक्त निर्णय गरेको हो । नेपाल र चीनबीचको महत्वपूर्ण व्यापारिक नाका मानिने तातोपानी नाका लामो समयदेखि बन्द रहेको थियो ।

असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुई पक्षीय बैठकमा नेपालतको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश ढकाल र चीनको तर्फबाट ल्हासाका अधिकारीको सहभागिता रहेको थियो ।

लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा रहेका सामान थन्किएको थियो ।

व्यवसायीहरुले नाका खुला गर्न लामो समयदेखि सरकारी निकाय घच्घच्याउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?