कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ० दशमलव ६४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा ३ महिला र ७ पुरुष रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८९१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनासहित देशभर १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ७३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । यो कुल संक्रमितको ७२.६ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ७०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ६८९ जना छन् । तिमध्ये २१३ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ७७८ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

हिजो (सोमवार) नेपालमा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको थियो । ७४२ जना संक्रमणमुक्त भएका थिए भने ४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?