काठमाडौं । पाँचौँ संविधान दिवसका अवसरमा नेपाली राजदूतावास ओमानले आज अन्तर्किया श्रव्य दृश्य कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका सहभागीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानले नेपालीको आत्मसम्मान तथा भावनाको सम्बोधन गरेको बताएका थिए । नेपालबाट सहभागी कलाकारले संविधानलाई केन्द्रमा राखेर मन्तव्य तथा आआफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै हास्य कलाकार मदनकृष्ण श्रेष्ठले संविधानको भावनाबमोजिम काम गर्दै अगाडि बढ्न सकेमा नेपालीले चाहेको समृद्ध नेपालको लक्ष्य चाँडै प्राप्त हुने बताए। हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे र कलाकार जीतु नेपालले आफ्नो प्रस्तुतिमार्फत संविधान दिवस एवं राष्ट्रिय दिवसमा सन्देश दिएका थिए ।
कार्यक्रममा नेपाली राजदूत शर्मिला पराजुलीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरे । नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूत तथा गायक हाइथम मोहम्मद रफिकले नेपाली गीतसङ्गीतमार्फत नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्नुभयो । कार्यक्रममा विभिन्न सहभागीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना आदान प्रदान तथा आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा ओमानबाट सगरमाथा आरोही पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा समाजसेवी डा चिथ्रा नारायणलगायत गैरआवासीय सङ्घका प्रवक्ता डिबी क्षेत्री एवं नेपाली सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा र ओमानस्थित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारी एवम् प्रतिनिधिको सहभागिता रहेको मस्कटस्थित नेपाली दूतावास ओमनले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया