कावासोती । आर्थिक अभावका कारण हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ ।
पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला परेका छन् ।
दुई वर्षअघि पाठेघरमा क्यान्सर भएको थाहा पाएपछि चिकित्सकले उपचारका क्रममा पाठेघर फालिदिएका थिए । त्यसपछि दुई पटक किमो चढाइएको थियो । शुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा करिब रु १० लाख खर्च भएको उनका श्रीमान् सन्तबहादुर नेपालीले बताए ।
पहिलो पटक निःशुल्क किमो चढाएकोमा दोस्रोपटक वडा नम्बर ४ को संयोजनमा आर्थिक सङ्कलन गरी उपचार गरिएको श्रीमान् सन्तबहादुरले बताए ।
श्रीमतीको उपचार गराउँदा गराउँदै आफ्नो नाममा भएको जग्गासमेत बेचेर सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ । अहिले सम्पत्तिका नाममा सानो घर रहेको र त्यो पनि बैंकमा धितो रहेको उनले दुखेसो पोखे ।
वडा सदस्य नेपालीलाई फेरि पनि किमो चढाउनुपर्ने र त्यसका लागि पैसा नभएपछि उनी बिस्तरामा थलिएका छन् । दई महिनाअघि सन्तबहादुर स्वयं बिरामी परेका थिए । उनलाई अल्सर र पित्तथैलीमा समस्या देखएिपछि बल्लतल्ल उपचार गराएकोमा अहिले पुनः श्रीमतीलाई समस्या देखिएपछि यो परिवार समस्यामा परेको छ । पन्ध्र दिनदेखि ओछ्यानमा श्रीमती थलिएपछि श्रीमान् सन्तबहादुरले हेरचाह गर्दै आएका छन् तर उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन भने सकेका छैनन् ।
वडा कार्यालयबाट यसअघि पनि आवश्यक सहयोगका लागि समन्वय गरेको र अहिले पनि सहयोग सङ्कलनका लागि आवश्यक समन्वय गरको हुप्सेकोट–४, का वडाध्यक्ष रोशन थापाले बताए ।
श्रीमान् सन्तबहादुरले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । सहयोगका लागि सुमित्रा नेपालीको नाममा एनसीसी बैंक हुप्सेकोट शाखामा रहेको खाता नम्बर इ ०००५३२४२५५ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।
वडा सदस्य नेपालीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उनका श्रीमानको मोवाईल नम्बर ९८०५४५३५८५ मा सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया