निरन्तर प्रकोपले समस्या : प्रजिअ ढकाल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताउनुभएको छ । अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् ।

“धेरै मानिस विस्थापित छन्”, उनले भने, “जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको अवस्था छ । सुरक्षाकर्मी परिचालन भएका छन् । स्थानीय पालिकालगायत विभिन्न निकायसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले कामहरु अगाडि बढाइरहेको अवस्था छ ।” केन्द्रीयस्तरमा पनि सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बैठकहरु बसेर धरै निर्णय भएको र कामहरु अगाडि बढिरहेको उनले बताए ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा सङ्क्रमण नफैलियोस् भन्नका लागि यही भदौ १ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रजिअ ढकालले बताए । राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत राजधानीमा हुने भएकाले पनि सिन्धुपाल्चोक पनि कोरोनाको उच्च जोखिममा रहेको उनले बताए । सिन्धुपाल्चोकमा हालसम्म चार जनाको मृत्यु भएको छ भने १०९ संक्रमित भएकामा ७७ जना निको भएर घर फर्किसकेको उनले जनाकारी दिए ।

“अहिले हामीले जिषेधाज्ञा जारी गरेका छौँ, त्यसैले सङ्क्रमण नफैलिएको स्थिति छ । निषेधाज्ञा जारी नगरेको भए स्थिति भयावह भइसक्ने थियो”, उनले भने, “बजारलाई व्यवस्थित गर्ने, अति आवश्यक पसललाई निश्चित समयमा खोल्ने, केही निमार्णका कामलाई अगाडि बढाउने र अनावश्यक कामलाई बन्द गर्ने हिसाबले काम अगाडि बढाउने निर्णय गरेका छौँ ।”

अरनिको राजमार्गलाई व्यवस्थित गरिँदै

नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनका लागि अरनिको राजमार्ग व्यवस्थित गरिने उनले बताए। बाह्रबिसेभन्दा माथि एकठाउँमा सडक अवरुद्ध भएको स्थिति छ । उनका अनुसार सडक मर्मतका लागि सडक विभागले काम गरिरहेको छ ।

“चीन सरकारको न्यालम प्रान्तसँग असाध्यै राम्रो सम्बन्ध छ, म पहिला पनि सीमा जोडिएको जिल्लामा बसेको भएकाले मित्रराष्ट्रसँग कसरी समन्वय गर्ने भन्ने केही ‘आइडिया’हरू थियो”, उनले भने, “यसअघि जिल्लामा लामो समयदेखि सुरक्षा बैठक पनि बस्न सकिरहेको अवस्था रहेनछ, हामीले सहयोगको प्रस्ताव पनि गरेका थियौँ । चिनियाँ पक्ष एकदमै सकारात्मक भएर हामीलाई स्वास्थ्य सामग्रीहरू सहयोग गर्नुभयो ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?