अमेरिका-भारत व्यापार सम्झौता चाँडै : पियुष गोयल

नयाँदिल्ली । संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि बढेको छ ।

भारतका केन्द्रीय बाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले दुई देशबीचको व्यापार सम्झौताका सन्दर्भमा अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरसँग निकट सम्पर्कमा रहेको मंगलवार बताएका छन्।

अमेरिका–भारत रणनीतिक साझेदारी मंचको बैठकलाई सम्बोधन गर्दै मन्त्री गोयलले भने, “व्यापार सम्बन्धी पूरै प्याकेज लगभग तयार भइसकेको छ र यसलाई कुनै पनि समय अन्तिम रुप दिन सकिनेछ । भारतको विचारमा यो प्याकेजले दुबै मुलुकको जितलाई प्रतिबिम्बित गरेको छ ।”

मन्त्री गोयलले अगाडि भने, “मैले अमेरिकी व्यापार प्रतिनिधि लाइटिजरसँग विचारविमर्श गरेको छु । हामी दुबैबीच यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव वा सोभन्दा अघि नै गर्न समझदारी बनेको छ । हामी भोलि नै यो सम्झौता गर्न पनि तयार छौँ ।”

उनले व्यापार सम्झौताले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई अझ प्रगाढ र गहिराईमा लैजान मद्दत गर्ने बताए ।

मन्त्री गोयलले दुबै मुलुकबीचको समझदारी अभिवृद्ध हुँदै गएमा आगामी दिनमा भारत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?