नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमवार निधन भएको छ ।
झण्डै एक महिना अगाडिदेखि सैनिक अस्पतालमा उपचार गराइरहेका मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।
उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउने गरेका थिए ।
उहाँका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् ।
उनले ट्वीटमा लेखेका छन्, “भारी हृदयका साथ यो जानकारी गराउन वाध्य छु की मेरा पिता प्रणव मुखर्जी अब हामीबीच रहनु भएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सबै सुभेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
उनी भारतको १३ औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए ।
उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उनकी श्रीमती सुभ्रा मुखर्जीको भने उनी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो । भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको औला समातेर उनले राजनीतिमा प्रवेश गरेका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया