मन्त्री नेम्वाङ्गद्वारा सडक अनुगमन, जाम हुने ठाउँमा चाडो काम सक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गले कोटेश्वर चोकमा विस्तार भइरहेको सडक अनुगमन निरीक्षण गरेका छन् । उनले कोटेश्वर चोकको जाम हटाउन वैकल्पिक रुपमा विस्तार भइरहेको सडकको सोमवार स्थलगत अनुगमन गरेका हुन ।

अनुगमनपछि मन्त्री नेम्वाङ्गले संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्यकाकै बढी यातायात जाम हुने ठाउँ भएकाले यथाशिघ्र छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

तत्काल कोटेश्वर चोकको जाम हटाउन अहिले दक्षिणतर्फ तीन लेन र उत्तर एयरपोर्टतर्फ एक लेन सडक विस्तार भइरहेको छ । जामको दीर्घकालिन समाधान गर्न सरकारले अण्डरपास निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) संग सहकार्य गर्ने तयारी गरिरहेको छ ।

पुरानो तारबार हटाउने, एयपोर्टको जग्गा भएकाले सुरक्षा संवेदनशिलताका कारण नयाँ बार लगाउँने, सुरक्षा पोष्ट निर्माण गर्ने, ट्रयाक ओपन गर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेकाले एक हप्ता भित्रै ठेक्काको लागि टेन्डर निकालिने सडक डिभिजन काठमाण्डौका प्रमुख कुबेर नेपालीले जानकारी गराए ।

अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिम ढकाल समेत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?