काठमाडौं । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को संक्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा संक्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसीआर परीक्षणमा १६६ जनामा संक्रमण भेटिएको छ । त्यसमध्ये ७२ जना संक्रमण मुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । उनका अनुसार भदौको पहिलो सातामा पर्साको वीरगञ्ज कारागारबाट संक्रमण देखिएको थियो ।
त्यसपछि जोखिम क्षेत्रको सात वटा कारागारमा नमूना सङ्कलन गरेर परीक्षण गर्दा अन्यमा समेत देखिएको हो । नयाँ कैदीबन्दी र कारागारको सुरक्षामा खटिएका प्रहरीमा पहिलो पटक कोरोना देखिएको थियो । केहीअघि काठमाडौंको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शङ्कास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको सापकोटाले बताए ।
काठमाडौंको केन्द्रीय कारागारमा मात्रै चार जनामा देखिएको छ । प्राप्त विवरणअनुसार कारागारका सुरक्षाका लागि खटिएका २०७ प्रहरीमा पिसीआर परीक्षण गर्दा ५२ जना तथा कर्मचारी ७८ को परीक्षणमा सात जना संक्रमित भएका हुन् । बाँकी सबै कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । हाल कारागारमा २४ हजार १०० कैदीबन्दी छन् । कूल ८२० कर्मचारी र झण्डै दुई हजार प्रहरी रहेका छन् । कारागारभित्र सामाजिक दूरी कायम गर्न सक्ने अवस्था नभएकाले उच्च जोखिम छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया