जोखिम बढ्दै : नेपालका आईसियु र भेन्टिलेटरमा कति छन् कोरोना संक्रमित ?

काठमाडौं – नेपालका विभिन्न स्थानका अस्पतालहरुका आईसियुमा १४४ जना उपचाररत छन् भने १७ जनाको भेन्टिलेटरमा उपचार हुँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा १७ जना, प्रदेश २ मा ३८ जना, बाग्मती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १६ जना गरी १४४ जना आईसियुमा उपचाररत छन् । त्यस्तै प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा १२ जना प्रदेश ५ मा २ जना गरी १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ । आज (आईतवार) थप १ हजार २२१ जनामा कोरोना भाईरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २२१ जनाको मृत्यु भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

यसअर्थ हाल ‘एक्टिभ केस’ अर्थात् उपचाररत संक्रमितको संख्या १७ हजार ५ सय १८ जना पुगेको छ ।

हाल संस्थागत आईसोलेसनमा १० हजार ६ सय १२ जना उपचाररत छन् भने होम आईसोलेसनमा ६९०७ जना रहेका छन् ।

काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो काठमाडौंमा एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । घना बस्ती भएको शहरमा यसरी संक्रमणको दर बढ्दै जानुले आगामी दिनमा अझै जटिल स्थिती आउनसक्ने विज्ञहरु बताउँछन् ।

काठमाडौं उपत्यकामा आईतवार थपिएका ४२९ जना संक्रमित मध्ये ३७२ जना संक्रमित काठमाडौंका, १२ जना ललितपुरका र ४५ जना भक्तपुरका संक्रमित हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी, रौतहट, काठमाडौं, मोरङ, बारा, सर्लाही, धनुषा, ललितपुर, चितवन, रुपन्देही जिल्लामा हालको अवस्थामा ५ सय भन्दा बढी कोरोना संक्रमित उपचाररत छन् । यस्तै मुस्ताङ र हुम्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

नेपालमा हिजो (शनिवार) ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । photo source : internet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?