जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव सुगा पनि आकाङ्क्षी

टोकियो । जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाएका छन् ।

तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रवार राजीनामा दिएकाले जापानमा अहिले प्रधानमन्त्री पद खाली रहेको छ ।

आकाङ्क्षी सुगा सरकारको प्रमुख प्रवक्ता समेत हुन् । उजलाई पार्टीकै कतिपय वरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्न उपयुक्त पात्रको रुपमा अगाडि सारेका छन् ।

उनीहरुले कोरोना भाइरसले सृजना गरेको महामारीको सामना गर्ने, सवैसँग समन्वय र सहकार्य गर्नेलगायतका सरकार सञ्चालनका लागि आवश्यक क्षमता उनीसँग भएको दावी पनि गरेका छन् ।

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का वरिष्ठ सांसदहरुले नयाँ प्रधानमन्त्री चयनका लागि आउदो सेप्टेम्बर १५ तारिखको वरीपरी निर्वाचन हुनसक्ने बताएका छन् ।

प्रधानमन्त्री छनोटको निर्वाचनमा एलडीपीकै नेताद्वय पूर्व परराष्ट्र मन्त्री फुमिओ किशिदा र पूर्व रक्षा मन्त्री शिगेरु आइशीबा पनि सहभागी हुने संकेत गरेको जनाइएको छ।

मुख्य सचिव सुगाले सन् २०१२ देखि नै तत्कालिन प्रधानमन्त्री आवे शक्तिमा आएसँगै सरकारको मुख्य प्रवक्ताको रुपमा काम गर्दै आएका छन्।

उनलाई आवेको अति विश्वासपात्र भएकाले र क्षमतावान् पनि भएकाले प्रधानमन्त्री हुने सबैभन्दा बढी सम्भावना भएको उम्मेदवारको रुपमा हेरिएको छ । आवेको चाहना र समर्थन पनि उनलाई नै हुनसक्ने धेरैले अनुमान गरेका छन् ।

निर्वतमान प्रधानमन्त्री आवेले आफू अस्वस्थ्य हुँदा हुँदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताएका थिए।

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाइ छ ।

उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा दिएका हुन् ।

सन् २०१२ देखि लगातार शक्तिमा रहेका आवे यस अघि नै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएको नेताका रूपमा इतिहास रच्न सफल बनेका छन् । उहाँले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर पछि स्वास्थ्यमा सुधार भएपछि फेरि निर्वाचित भएका थिए।

पछिल्लो दुई हप्तामा उनी दुई पटक अस्पताल गएका छन् । उनी अर्को महिनादेखि ६६ बर्ष लाग्नेछन्।

उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन् झन् बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?