कोरोनाको कारण एकैदिन १२ जनाको मृत्यु, मृतक संख्या २ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरको ६२ वर्षीया एक महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुनेमा पुरुषहरुमा पर्साका ४८ र ३९ वर्षीय २ पुरुष, सिरहामा ८३ वर्षीय पुरुष, गोर्खामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष, काठमाडौंमा ८३ वर्षीय पुरुष, ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुष र भक्तपुरमा ८२ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा पछिल्लो समय कोरोनाको कारण मृत्यु हुने दर बढिरहेको छ । हिजो मात्र नेपालमा कोरोनाको कारण एकैपटक १२ जनाको मृत्यु भएको थियो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो (शुक्रवार) मात्र काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?