संक्रमण मुक्त किशोरीको अभिभावकत्व ग्रहण

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना संक्रमणबाट मुक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन् । संक्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा–५ को किशोरीको शुक्रवार घरमै गई तिमल्सिनाले स्नातकसम्मको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका हुन् ।

किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताए । “चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भइरहेका बेला कोरोना संक्रमितलाई दुव्र्यवहार हैन, हौसला प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले उनको अभिभावकत्व ग्रहण गरेको हुँ”, उनले भने। किशोरी हाल कक्षा १२ मा अध्ययनरत छिन् । किशोरीको परिवारमा छ सदस्य छन् । परम्परागत रुपमा सामान्य खेतीपाती गर्दै आएको परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।

नगरप्रमुख तिमल्सिनाले आफ्नो घरसम्मै आएर हौसला प्रदान गरेकोमा सङ्क्रमणमुक्त किशोरीले खुशी व्यक्त गरेकी छन् । उजले भनिन्, “मेरो शिक्षाका लागि उहाँले अभिभावकत्व ग्रहण गर्नुले आफूलाई अझै अध्ययनमा हौसला मिलेको छ ।” किशोरीमा कोरोना संक्रमण देखिएपछि गत साउन ३१ गतेदेखि धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । नमोबुद्ध नगरमा हालसम्म भएका छ सङ्क्रमितमध्ये चार संक्रमणमुक्त भईसकेका छन् ।

नगर प्रमुख तिमल्सिनाले विगतदेखि नै व्यक्तिगत तर्फबाट विपन्न र जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग गर्दै आएका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर गत बुधवारमात्रै एक लाख रुपैयाँ भन्दा बढी रकम विद्यार्थीको शिक्षाका लागि प्रदान गरेका थिए ।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म २१९ लाई कोरोना संक्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भईसकेको छ भने ८१ उपचारपछि घर फर्किएको र १३६ विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?