धानबाली नष्ट गरिएको समाचारबारे बोल्यो गृहमन्त्रीको सचिवालय

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ ।

रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली रामारोशन गएको थियो । बुधबार बाढीपहिराले ठूलो जनधन क्षति भएको थियो ।

सोही क्रममा बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाउँदै सचिवालयले प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको छ ।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले राहत वितरणका क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार रहेको बताए । कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ ।

‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजीकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’, प्रेस नोटमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?