काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको बताएका छन् । उनले आज एक अपिल जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीय नागरिक बीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि तीनवटै तहका सरकारलाई सजग गराएका छन् ।
सभापति देउवाले कोरोना भाइरस संक्रमण विरुद्धको युद्ध सिङ्गो संसारले स्वास्थ्यकर्मीको नेतृत्वमा लडिरहेको र आफू तथा आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्र्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भएको उल्लेख गरेका छन् । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न उहाँले सबैलाई आग्रह गरेका छन् ।
‘फ्रन्ट लाइन’ मा रहेर कार्य गरिरहेकाको उच्च सम्मान
सभापति देउवाले आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भुमिका निरन्तर निभाइरहेका सञ्चारकर्मी एवम् गाउँ–शहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाइकर्मीलाई ह्दयदेखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सर्हाना गरेका छन् ।
मुलुकका कयौं भागमा बन्दाबन्दी र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको र कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल समयमा उहाँले सबैलाई संयम र एकता साथ परिस्थिति सामना गर्न अपील गरेका छन्।
प्रतिकूल वातावरण र सामाग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहेकोप्रति सभापति देउवाले प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामाग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका छन् ।
कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढङ्गले ब्यवस्थित गर्न अपील
बन्दाबन्दी र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढङ्गले व्यवस्थित गर्न सरकारलाई अपील गर्दै उनले पीसिआर परीक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पु¥याउन माग गरेका छन्। कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दै सभापति देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।
क्वारेन्टाइनहरु व्यवस्थित नहँंदा कोरोनाको विस्तारमा योगदान पुगेको घटनाहरु स्मरण गराउँदै उनले मापदण्डयुक्त क्वारेन्टिनहरुको ब्यवस्थापनमा अविलम्ब ध्यान पु-याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
विदेशमा अलपत्र परेकालाई निःशुल्क उद्वार गर्न माग
साथै लाखौंको सङ्ख्यामा बिदेशमा रहेका नेपाली नागरिकलाई कोरोना सङ्क्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन अपील गर्दै सभापति देउवाले नेपाली जनसम्पर्क समिति तथा देश बाहिर रहेका सबै सङ्घसंस्था र नेपाली दूतावासलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीको हितमा ऐक्यवद्ध ढंगले कार्य गर्न आग्रह गरेका छन् ।
बिदेशमा अफ्ठ्यारोमा परी स्वदेश फर्कन चाहने नेपालीलाई उद्वार गर्न कांग्रेसले शुरुआत देखि नै सरकारलाई आग्रह र माग गर्दै आएको उल्लेख गर्दै उनले नीति र ब्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडामाथि पीडा थपिएको आरोप लगाएका छन् । कांग्रेसले बिदेशमा रोजगार गुमाएर बेखर्ची समेत भएका युवालाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न सरकारसँग माग गरेको छ ।
कोरोनाविरुद्धको सङ्घर्षमा क्रियाशील रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह
कोरोनाको सङ्क्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु सबै राजनैतिक दल एवं सङ्घसंस्थाको साझा कर्तव्य भएको उल्लेख गर्दै सभापति देउवाले आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावना साथ थप कृयाशिल रहन कांग्रेसका सबै नेता कार्यकर्तासँगै सबै दल, सङ्घसंस्थामा आवद्धलाई आग्रह गरेका छन् ।
प्रत्यक्ष जनतासँग सम्पर्कमा रहेर कार्य गरिरहेका देशभरिका स्थानीय तहका सबै नेतृत्वको सहना गर्दै उनले कोरोनाविरुद्धको संघर्षका स्थानीय कमजोरीको पहिचान एवं सबै थरी एक भएर कार्य गर्ने इच्छाशक्तिका साथ निदान गर्दै अघि बढ्न अपील गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया