ओखलढुङ्गामा पहिलो पटक जनप्रतिनिधिमा देखियो कोरोना

ओखलढुङ्गा। लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएका थिए ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उपाध्यक्ष ढुङ्गेल स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेको बताइएको छ । “ स्वास्थ्यमा खासै समस्या रहेको छैन । घरैमा बसेर आराम गरिरहेकी छु । छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु ”,उनले भने ।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको संक्रमण देखिएको थियो । जिल्लामा अहिले दुई सक्रिय कोरोना संक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?