भारतमा ७४ प्रतिशत कोरोना संक्रमितहरु निको भए

नयाँदिल्ली । भारतका कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएको पाइएको छ ।

भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

कुल संक्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । शुक्रवारसम्मको तथ्यांक अनुसार कुल संक्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये अहिलेसम्म ५४ हजार ८७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला संक्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ ।

भारतमा अहिले छ लाख ९२ हजार २६ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?