कोरोना अपडेट : विश्वभरी दुई करोड २२ लाख संक्रमित, एकै दिन साढे दुई लाख थपिए

जेनेभा । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विश्वभरीको कुल संक्रमित संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

ती मध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।

सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

भाइरसको संक्रमण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा संक्रमित र मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?