भक्तपुर । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैयाको आइसोलेसन बनाएर सञ्चालनमा ल्याएको हो ।
सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई ५०० शैयाको आइसोलेसन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा बीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टाइन भवनलाई आइसोलेशनका रुपमा परिणत गरेकोे भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।
हाल २०० शैयाको आइसोलेसन तयार भएपनि तत्काल १०० शैय्या सञ्चालनमा ल्याएको जानकारी दिँदै मेसु डा. गौतमले भने, “सङ्घीय सरकार र वाग्गती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्री युवराज दुलालको अगुवाइमा खरिपाटीस्थित क्वारेन्टानलाई आईसोलेशन सञ्चालन गरेका हौँ, उनीबाट जनशक्ति पनि पठाईदिने आश्वासन प्राप्त भएको छ ।”
आईसोलेसनमा रहेको ८ शैया स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने २०० शैय्या कोरोना भाइरस संक्रमितलाई राखिनेछ । भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित ७ जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डा।गौतमले जानकारी दिए । भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सातजनाको संयुक्त तीनवटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, यहाँको आईसियू तथा आईसोलेशन र खरिपाटीस्थित आइसोलेसनमा टोली परिचालन गरिएको छ ।
तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई चिकित्सक, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एक टिममा सातजना रहने गरी तीनवटा टिम तयार पारेको छ । भक्तपुर अस्पतालमा तालिम प्राप्त जनशक्तिको अभाव भएकाले राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालसँग तालिम प्राप्त जनशक्ति राखेर टिम बनाएको हो । खरिपाटीस्थित आइसोलेसनमा लक्षण नभएका संक्रमितलाई राखिने जानकारी दिदै डा. गौतमले लक्षण भएका र जटिल खालका सङ्क्रमितलाई अन्य अस्पताल पठाईने भएको छ ।
वीर दल गण सूर्यविनायकबाट खटिएको सेनाले आइसोलेशनको सुरक्षा गरेको छ । नेपाली सेना, स्वास्थ्यकर्मी सहितको ‘कन्ट्रोल रुम’ बाट आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने गरिएको छ । गतसोमबार १ जना कोरोना संक्रमित पुरुषलाई राखेर आइसोलेसन शुरु गरिएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर अस्पतालको मेसुको नेतृत्वमा खरिपाटीस्थित आइसोलेसनमा संक्रमितको व्यवस्था गर्ने, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिए । तत्काल २०० शैयाको आइसोलेशनको क्षमता रहेपनि सङ्क्रमितको सङ्ख्या बढ्दै गए १०० शैय्या थप गरेर ३०० शैय्यामा विस्तार गर्न सकिने उनले जानकारी दिए ।
भक्तपुर अस्पतालमा आईसियू र आइसोलेसन
सरकारले कोरोना हब अस्पतालको रुपमा तोकेको भक्तपुर अस्पतालले सघन उपचारकक्ष (आईसियू) र आइसोलेशन शैय्या सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण फैलिँदै गएपछि बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै जाँदा समस्या सृजना भएपछि अस्पतालले पाँच शैय्याको आईसियू र तीन वटा भेन्टिलेटरसहितको १५ शैयाको आईसोलेसन वार्ड सञ्चालनमा ल्याएको हो ।
अस्पतालले एक महिना अघि नै आईसियू र आइसोलेसन सञ्चालन गर्नेगरी सबै तयारी पूरा गरेपनि जनशक्ति अभावका कारण सञ्चालन गर्न नसकेको अवस्थामा जिल्लाका तीन प्रमुख अस्पतालको संयुक्त समन्वयमा आईसियू सहितको सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. गौतमका अनुसार भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त समन्वयमा सेवा सञ्चालनमा ल्याएको हो । डा। गौतमले भने, “कोरोनाको संमण बढ्दै गएपछि स्वास्थ्य आपतकालिन अवस्थामा केन्द्र र प्रदेश सरकारको मात्रै मुख ताकेर हुँदैन भनेर म, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा।प्रेम ज्ञवाली र क्यान्सर अस्पतालका निर्देशक डा.ऋषिकेश नारायण श्रेष्ठको छलफलबाट टिम बनाएर काम गर्नेगरी आइसियू सञ्चालन गरेका हौँ ।”
आपतकालिन अवस्थामा तीनवटै अस्पतालले मिलेर आईसियू सञ्चालन गर्ने र स्वास्थ्य जनशक्ति पनि तीनवटा टिम बनाएर परिचालन गर्ने गरी सेवा शुरु गरेको हो । सो आईसियूमा कोरोना संक्रमित मिर्गौलाका बिरामीलाई राखिएको छ । आईसियू र आइसोलेसन वार्ड तयार पारेको महिनौँ बित्दा पनि आवश्यक जनशक्तिको व्यवस्था केन्द्र र प्रदेश सरकारबाट हुने आशामा बसेको अस्पतालमा जनशक्तिको व्यवस्थापन नभएपछि अस्पताल आफैँले रिक्त दरबन्दीमा करार नियुक्तीका लागि जनशक्ति मागसमेत गरेको छ ।
कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन
जिल्ला प्रशासन कार्यालय परिसरमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्व रहने गरी केन्द्र सञ्चालन भएको प्रजिअ पाण्डेले जानकारी दिए । जिप्रका अगाडिको भवनमा केन्द्र स्थापना गरिएको जानकारी दिँदै उनले भने, “जिप्रका अगाडि कै भवनमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन ल्याएका छौँ, यसको सबै व्यवस्थापनको जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई दिइएको छ, अब कोभिड–१९ सम्बन्धी सबै सूचना त्यही सङ्कलन गर्ने र त्यहीबाट दिने गरी व्यवस्थापन गरेका छौँ ।”रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया