आइसोलेसन थपिँदैः क्वारेन्टाइन रित्तिँदै

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेसन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेसन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए । “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेसन कक्ष व्यवस्थित गरेका हौँ” उनले भने । उनका अनुसार नगरका संक्रमित हाल शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा घरमै ‘सेल्फ आइसोलेसन’ रहेका छन् ।

भवनको कक्षमा ‘नर्सिङ स्टेशन’ बनाइएको छ । नगरले अस्पताल र घरमा बसेका संक्रमितलाई हाल व्यवस्थित आइसोलेशनमा लैजाने तयारी गरिरहेको छ । आइसोलेसन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान गरिएको छ । ५० बेडको आइसोलेशन कक्षका लागि बनेपामा युवा व्यवसायी रत्नकुश र रञ्जितले २० वटा बेड सहयोग गरेका छन् । रञ्जितले बुधबार उक्त बेड नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । वादेले आइसोलेसनमा बस्ने संक्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खाना व्यवस्थापन गरिएको बताए ।

काभ्रेपलाञ्चोकमा २०७६ चैत महिनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै १०० बेडको आइसोलेसन व्यवस्थित गरेका छन् । जसमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरमा छ आइसोलेसन बेड व्यवस्थित गरिएको हो । अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेसन कक्ष व्यवस्थित गरेका छैनन् ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अन्य स्थानीय तहलाई पनि आइसोलेसन कक्ष ब्यवस्थित गर्न आग्रह गर्दै आएको छ । “संक्रमणको जोखिम बढिरहेको छ, भएकालाई थप बेड व्यवस्थापन गर्न तथा नभएकालाई व्यवस्थापन गर्न आग्रह गर्दै आएका छौँ” केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने । हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टाइन बेड व्यवस्थित गरेका छन् ।

त्यसो त, जिल्लामा सङक्रमित बढ्दै गएपछि आइसोलेसन बेड बढाईरहँदा क्वारेन्टाइन रित्तिदै गएका छन् । हाल ७६ पुरुष र १३ महिला मात्रै बसेका छन् । जसमध्ये बनेपा नपामा छ, धुलिखेलमा १४, पनौतीमा १२, पाँचखालमा चार, नमोबुद्धमा दुई, मण्डनदेउपुरमा दश तथा रोशी गाउँपालिकामा २१, तेमालमा ११ र भुम्लुमा नौ क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, महाभारत, बेथानचोक र चौंरीदेउराली गाउँपालिकाको क्वारेन्टाइन रित्तिसकेका छन् । छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टाइनको बसाईपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको सङ्ख्या सय नाघेको छ । हाल हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना संक्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । पोष्टअनुसार कूल संक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन् । बाँकी संक्रमितको आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?