काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् । बुधबार राति एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुने बताएका हु्न् । तर उनको भनाइमा मन्त्रिमण्डल हेरफेर हुन केही समय भने लाग्ने देखिएको छ ।
यस्तै प्रदेश सरकारमा पनि थपघट हुने उनले आशय व्यक्त गरे । संवैधानिक आयोग र उच्च राजनीतिक नियुक्तिमा पनि प्रतिपक्षीसमेतको राय सल्लाहमा निर्णयमा पुगिने प्रचण्डको भनाइ छ ।
उनले भने, ‘अहिले हामी मोटामोटी के कुरातिर जाँदैछौँ भने चाहे त्यो मन्त्रिमण्डलपुनर्गठनको कुरा होस्, या प्रदेश सरकारमा थपघट या पुनर्गठनका कुरा, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, म र प्रधानमन्त्रीजीको एउटा छोटो मिटिङ पनि भएको थियो संवैधानिक नियुक्तिको विषयमा, त्यस्तै राजनीतिक ठूला नियुक्तिहरुको कुरा–यो सबै विषयमा हाम्रो एउटा अन्डरस्ट्यान्डिङ के छ भने यसमा प्याकेजमा नै जानुपर्छ । यी सबै विषयमा कम्तीमा पनि सचिवालयलाई हामीले पार्टीको कोर अफ द लिडरसिप भनेका छौंँ । जो ९ जना हामी अहिले छौँ । यी सबै विषयमा सचिवालयमा समझदारी बनाएर, छलफल गरेर र दुई अध्यक्षको बीचमा पनि समझदारी बनाएर टुंगो लगाउने भन्नेमा हामी सबै अहिले सहमत छौँ ।’
उनले पार्टीमा अब विवाद नभइरहेको पनि दावी गरे । नेकपाभित्र पद भागबण्डाकै निम्ति विवाद भएको भनिँदै आएको बेला प्रच्ण्डले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन् ।
नेकपाभित्र केहीयता प्रधानमन्त्रीको राजीनामा माग हुँदै पछिल्लो समय दुई अध्यक्षबीचको लामो छलफलबाट सहमतिको वातावरण बनेको बताइएको छ । सोही छलफलको परिणाम अनुसार नेकपाको विवाद मिलाउन कार्यदल बनाइएको छ भने अहिले कार्यदल आफ्नो काममा सक्रिय छ ।
स्रोतका अनुसार कार्यदलले आफ्नो प्रतिवेदन बुझाएसँगै प्रचण्डले भनेजस्तै नयाँ चरणमा छलफल सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया