जेलबाट भाग्ने ११ कैदीको प्रहरी कारवाहीमा मृत्यु

पपुवा न्यूगिनी । पपुवा न्यूगिनीको लाई शहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको मङ्गलवार प्रहरीले पुष्टि गरेको छ ।

पपुवा न्यू गिनीको गृह प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बिरामी कैदीलाई उपचारको लागि अस्पताल लाने क्रममा बन्दीगृहको गेट खोलेको मौका पारी कैदीहरूले सामुहिक रूपमा भाग्ने क्रममा जेल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कर्तव्यपालनाको शिलशीलामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जेलबाट भाग्न सफल भएका छन् । उनीहरू समाचार तयार पार्दासम्म फरार रहेका छन् ।”

उक्त समूहले जेलको सुरक्षार्थ खटिएका एक ड्युटी अफिसरलाई चक्कू प्रहार गरी जेलबाट बाहिर भागेका थिए ।

सुरक्षाकर्मीले भाग्न लागेको समूहलाई रोक्न खोज्दा झडप भएपछि चलाइएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको सुधार गृहका आयुक्त स्टीफन पोकानिसले पुष्टि गरे ।
उनले मङ्गलवार एएफपीसँग भने, “हामीले आफ्नो तथ्याङ्कलाई अद्यावधिक गरेका छौं । जेल तोड्ने कार्यमा ४७ जनाको सम्लग्नता रहेको पाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ भने अन्य फरार रहेका छन् ।”

पपुवा न्यूगिनीमा सन् २०२० मा जेलबाट भाग्न गरिएको चौथो ठूलो घटना हो । यस पहिले जनवरीमा बुइमो जेलबाट १६ कैदी जेल तोडी भागेका थिए । त्यस्तै सन् २०१७ मा भएको यस्तै एक घटनामा परी १७ व्यक्तिको मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?