एटलान्टा । संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ । कोरोना भाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नेछन् ।
यस अधिवेशनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनलाई औपचारिक उम्मेदवार बनाउनेछ । बाइडेनले सम्मेलनको अन्तिम दिन आगामी बिहीवार आफ्नो गृहराज्य डेलावेयरबाट भर्चुअल सम्बोधन गर्नेछन् ।
विगतमा प्राइमरी चुनावबाट विजयी प्रतिनिधिहरु, पार्टी समर्थक र पार्टीका विशिष्ट व्यक्तिको बाक्लो उपस्थितिबीच निकै तडकभडकका साथ हुने अधिवेशन यसपटक खल्लो छ । मिल्वाकीको सिटी सेन्टरलाई अधिवेशन स्थल तोकिए पनि त्यहाँ कोही पनि उपस्थित छैनन् ।
सम्मेलनको तेस्रो दिन अर्थात् बुधवार सम्मेलनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि औपचारिक मनोनयन गर्नेछ ।
“हामी जनता (वी दी पिपल)” अमूर्त नाराका साथ शुरु भएको यस अधिवेशनमा नेताहरुले पार्टीका नीतिहरुमाथि बहस चलाउनेभन्दा राष्ट्रपति ट्रम्पका नीतिहरुको आलोचना गर्ने सम्भावना बढी छ ।
अधिवेशनमा राष्ट्रपतिका उम्मेदवार जो बाइडेन, उनले उपराष्ट्रपतिमा मनोनयन गरेकी कमला ह्यारिस, डेमोक्र्याटिक पार्टीका तर्फबाट विगतमा राष्ट्रपति रहेका बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा, पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन, राष्ट्रपतिको उम्मेदवार होडमा रहेका बर्नी स्यान्डर्स समेतका विशिष्ट व्यक्तिले सम्बोधन गर्नेछन् ।
सम्मेलन आयोजकका अनुसार बुधवार पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, सिनेटर एलिजाबेथ वारेनले सम्बोधन गर्नेछन् भने त्यसअघि मंगलवार पूर्वराष्ट्रपति बिल क्लिन्टन र कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले सम्बोधन गर्दै छन् ।
अधिवेशनमा रेकर्डेड तर भावुक मुद्रामा सम्बोधन गर्दै पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले राष्ट्रपति ओबामाको कार्यशैली अमेरिकी जनता र अमेरिकाका लागि घातक रहेको आरोप लगाएकी छन्।
उनले विगतमा डोनाल्ड ट्रम्पलाई जिताएका मतदाताप्रति लक्षित गर्दै एउटा गल्तीका कारण आज हामीले त्यसको परिणाम भोगिरहेको उनले बताइन् । उनले हिलारी क्लिन्टनले सन् २०१६ मा ट्रम्पको भन्दा बढी लोकप्रिय मत प्राप्त गरेपनि पराजित हुनु परेकामा दुःख प्रकट गरे।
उनले भने, “डोनाल्ड ट्रम्प हाम्रो मुलुकका लागि गलत राष्ट्रपति हुन् । आफूलाई सही सावित गर्ने चार वर्ष पनि त्यतिकै खेर गइसके ।”
मिसेलले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका जो बाइडेन निकै भलादमी र योग्य रहेको बताइन् । उजले जो बाइडेनले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, कोरोना महामारीलाई परास्त गर्ने तथा आफ्नो मुलुकलाई सही नेतृत्व दिनसक्ने बताइन् ।
जो बाइडेनले उपराष्ट्रपति पदमा कमला ह्यारिसलाई मनोनयन गर्नुअघि नै मिसेल ओबामाको सम्बोधन रेकर्ड गरिएकाले ह्यारिसका बारेमा उनले केही भनेकी छैनन्।
राष्ट्रपति ट्रम्पका नीतिमाथि कडा शब्दमा आलोचना गर्नु भएकी मिसेलले भनिन्, “देशभित्रका जल्दाबल्दा विषयमा मुलुकको सर्वोच्च निकायका प्रमुख ट्रम्पले सहानुभूति राख्नुपर्नेमा उल्टै अराजकता, विभाजन र घृणा फैलाएर अस्थिरता निम्त्याउनु भएको छ ।”
उनले विगत चार वर्षका समयका बारेमा अमेरिकी बालबालिकालाई बताउन पनि मुश्किल रहेको बताइन्् । “उनीहरुले आफ्नो नेताले आफ्नै नागरिकलाई राज्यका दुश्मनका रुपमा व्यवहार गरेको देखेका छन्, र गोराहरुको आधिपत्यलाई जबर्जस्त रुपमा महिमामण्डन गरिएको छ ।”
मिसेल ओबामाले रिपब्लीकन समर्थक र प्रगतिशील पक्षधरलाई जो बाइडेनको पक्षमा मत दिन अनुरोध गर्नु भएन, किनभने यी दुई काम रिपब्लीकन सिनेटर जोन कासिच र बर्नी स्यान्डर्सले गर्नु हुनेछ ।
जोन कासिचले रेकर्ड गराएको भिडियो सम्बोधनमा यसपटक जो बाइडेनलाई जिताउन आग्रह गरिएको छ । उनले सन् २०१६ को प्राइमरी चुनावमा ट्रम्पसँगै राष्ट्रपतिको उम्मेदवारीका लागि रिपब्लीकन पार्टीभित्र संघर्ष गरेका थिए ।
कासिचले यसअघि नै जो बाइडेनलाई समर्थन गरिसकेका छन् । उनले भने, “हाम्रो देशमा अहिले के भइरहेको छ भन्ने जगजाहेर छ, तर साँचो अर्थमा अहिले जे भइरहेको छ त्योभन्दा राम्रो गर्न सकिने प्रशस्त सम्भावना हाम्रा अघिल्तिर छ ।”
जो बाइडेनसँग प्राइमरी चुनावमा भिडेका दक्षिणपन्थी प्रगतिशील मानिने भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले रेकर्ड गराएको सम्बोधनमा भनिएको छः हाम्रो लोकतन्त्रको भविष्य संकटको घडीमा छ । देश जलिरहेको अवस्थामा रोमका निरो बाँसुरी बजाइरहेका हुन्थे, अहिले ट्रम्प गल्फ खेलिरहेका छन् ।
यसैबीच, बिबिसीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रिपब्लीकन पार्टीका जोन कासिचको भनाईप्रति असन्तोष प्रकट गरेका छन् ।
रिपब्लीकन पार्टीले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदका लागि पुनः औपचारिक मनोनयन गर्न अर्को साता अधिवेशन गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया