जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

कर्णाली । आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उनको सोमवार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहेका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत थिए । संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत–२ बाट प्रत्यक्ष उम्मेदवार भएका थिए । उनकै अग्रसरतामा वीरेन्द्रनगर–६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरु भएको थियो ।

उनका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा ठूलो क्षति पुगेको बताए । “समाजका हरेक क्षेत्रमा सक्रिय उहाँ इमान्दार पनि त्यत्तिकै हुनुहुन्थ्यो”, शाक्यले भने, “उहाँको नेतृत्व क्षमताकै कारण सुर्खेतमा आदिवासी जनजाति समुदाय एकताबद्ध रह्यो ।”

पाँच वर्षअघि कलेजो प्रत्यारोपण गरी निको भएका उनी पछिल्लो समय मुखको खटिरा क्यान्सरबाट ग्रसित थिए । क्यान्सर भएपछि रोकाया उपचार गरेर घरमै आराम गरिरहेका थिए। उनको सोमवार बौद्ध धर्म परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । उनका दुई छोरा र एक छोरी छन् ।

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

डोल्पा– हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

वर्षाको समयमा घरको छत चुहिने भएकाले त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

दुई जना पुरिएको खबर प्राप्त हुनेबित्तिकै प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी खटाइएको थियो भने प्रहरी र स्थानीय मिलेर शव निकालिएको थियो । मृतक बुढासँगै गएका अर्का ३९ वर्षीय कर्णबहादुर बोहोरा घाइते भएका छन् । उनको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?