गर्भवतीको हवाई उद्धार

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ ।

सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई शुरुमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण सो स्वास्थ्यचौकीले सुत्केरी गराउन संभव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो । बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनीलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले जानकारी दिए । गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो ।

गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सौगात कोइरालाले जानकारी दिए । उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?