देशभर आइसोलेसन र क्वारेन्टाइनको अभाव, स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय

काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले देशभरी आइसोलेसन र क्वारेन्टाइनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको सीसीएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय गरेको हो । स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा संक्रमणको जोखिम सँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ । संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षीत रहन सचिव गुरागाईंले आग्रह गर्नुभयो । भदौ १ गतेबाट हवाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?