भदौ १ देखि अन्तर्राष्ट्रिय उडान नखुल्ने, लामो दूरीको बस र स्कुल पनि नखुल्ने

काठमाडौं । सरकारले यसअघि भदौ १ देखि अन्तर्राष्ट्रिय हवाइ उडान र लामो दूरीको बस सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको भएपनि त्यो निर्णय रद्द गर्ने तयारी भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकमा उठान, लामो दुरीको यातायात र स्कु्ल समेत सञ्चालन नगर्ने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भदौ १ गतेबाट खोल्ने भनिएको हवाई उडान र लामा दुरीका सवारी साधन र स्कुल नखोल्ने र कम्तीमा यो सीमा १५ दिन पर सार्ने विषयमा छलफल भएको र यसबारे थप निर्णय गर्ने जिम्मा क्याबिनेटलाई दिइएको छ । सम्भवतः बुधबार बस्ने क्याबिनेट बैठकमा यसबारे थप छलफल भएर निर्णय लिइने एक मन्त्रीले बताए । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपनि यो निर्णयमा सरकार पुगेको हो।

यसबाहेक बैठकले देशभरी आइसोलेसन र क्वारेन्टिन अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा संक्रमणको जोखिम सँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ । संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षीत रहन सचिव गुरागाईंले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?