जनता समाजवादी पार्टीद्वारा आन्तरिक समायोजन निर्देशिका पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ ।

बुधबारबाट शुरु भइ शनिबार सम्पन्न बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए । निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुंगो लगाएको हो ।

निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ । जसपाले तत्कालित समाजवादी पार्टी र जसपाको क्रियाशिल सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधरामा समायोजन टुंगो लगाउने छ ।

जसपाको बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता औल्याएको छ । भारतसँगको सम्बन्ध बिगार्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै झाले चीन र भारत दुबै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडी बढ्न बैठकले सुझाव दिएको बताए ।

बैठकले कोरोना प्रभावित क्षेत्रमा सरकारलाई प्रभावकारी उपस्थिति जनाउन पनि आग्रह गरेको छ । कोरोना भाइरसका कारण नेपालको कृषि क्षेत्र, रोजगारीको क्षेत्र, शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गर्दै बैठकले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?