दुर्घटनाग्रस्त एअर इन्डिया विमानका पाइलटसँग भएको कुराकानीको अडियो भेटियो, अधिकारी भन्छन् चमत्कार भयो !

काठमाडौं । भारतको केरलस्थित कोझिकोडमा शुक्रवार राती भएको एअर इन्डिया विमान दुर्घटनामा पाइलटसहित १८ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परेको भारतका उड्डयनमन्त्री हरदिप सिंह पुरीले बताएका छन् । क्यालिकट विमानस्थलमा अवतरणका क्रममा दुबईबाट आएको विमान दुई टुक्रा हुनेगरी भएको उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

 

शनिवार दुर्घटनास्थलको भ्रमण गरेका मन्त्री पुरीले उडानका विवरणहरू रहने फ्लाइट डेटा रेकर्डर र विमानचालकबीच हुने संवाद रेकर्ड हुने ककपिट भ्वाइस रेकर्डर फेला परेको जनाउँदै अनुसन्धानका लागि ती महत्त्वपूर्ण हुने बताए । उनले प्रमुख विमानचालकको प्रशंसा गरेका छन् ।

कोरोनाभाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरूलाई लिएर आएको एअर इन्डिया एक्सप्रेसको उक्त विमानका दुवै चालकको दुर्घटनामा ज्यान गएको छ ।

अहिले १५० भन्दा बढी यात्रुहरू अस्पतालमा छन् । उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको थियो। तर दुर्घटनाको कारण अझै स्पष्ट नभएको मन्त्री पुरीले बताए ।

विमानमा १९० मानिसहरू थिए र मृत्युको सङ्ख्या उच्च नहुनुलाई एक अधिकारीले 'चमत्कार' भएको बताए।

अधिकारीहरु भन्छन् चमत्कार भयो

विमान चालकदलका सदस्यसहित १९० मानिस थिए। दुई टुक्रा भए पनि विमानमा आगो लागेको थिएन। मृत्युको सङ्ख्या उच्च नहुनुलाई एक अधिकारीले चमत्कार भएको बताएका छन् ।

यद्यपि यस दुर्घटनालाई यो दशककै भारतको खराब यात्रुवाहक विमान दुर्घटना मानिएको छ। दुर्घटनालगत्तै पुगेका उद्धारकर्मीहरूलाई अहिले क्वारन्टाइनमा बस्न भनिएको छ।

मृतकमध्ये एक जनामा कोरोनाभाइरस पुष्टि भइसकेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफूलाई पीडा भएको भन्दै ट्वीट गरेका छन् ।

दुर्घटना

दुर्घटना हुँदा विमानस्थल भएको क्षेत्रमा वर्षा भइरहेको थियो ।

वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ १९स्४० मा दुर्घटना भएको थियो ।

दुर्घटनाग्रस्त एअर इण्डियाको विमान

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले एउटा ट्वीट गर्दै उक्त विमान ठूलो वर्षाको अवस्थामा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेको र दुई टुक्रा भएको उल्लेख गरेका छन् ।

एजेन्सीको सहयोगमा

 

यो पनि पढ्नुहोस्  : के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?

                          केरल विमान दुर्घटनामा कोरोनाको इन्ट्री, विमानमा थिए संक्रमित

                           विमान दुर्घटनामा परी भारतमा १८ जनाको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?