गोंगबुमा विभत्स अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि पठाइयो, यस्तो छ प्रहरीको प्रारम्भिक अनुमान

काठमाडौं । आईतवार विहान राजधानीको गोंगबुमा विभत्स अवस्थामा टाउको र खुट्टा बिनाको शव भेटियो ।

धर्मस्थली घर भई टोखा नगरपालिका–१० विश्वज्योती मार्ग बस्दै आएका नारायणमान खड्गीले सुटकेसबाट आलो रगत निस्किएको देखेपछि तत्कालै प्रहरीलाई जानकारी गराए ।

No description available.

विहानको ७ बजेको समयमा सडक छेउमा उनले रगत बगिरहेको अवस्थामा कालो सुटकेस देखेका थिए ।

खबर भएपछि तत्काल तालिम प्राप्त कुकुर लिएर घटनास्थल पुगेको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा बिभत्स रुपमा एक ४०/४५ वर्षीय पुरुषको शव फेला पारे । शव यति बिभत्स थियो कि, घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र सुटकेसमा कालो प्लास्टिकले बेरिएको थियो ।

त्यसपछि प्रहरीले आफ्नो अनुसन्धानको गति बढाउन थाल्यो । प्रहरीले बाँकी अंग खोज्न तालिम प्राप्त कुकुरलाई लिएर हिँड्यो ।

शव भेटिएको ३०० मिटर टाढा प्रहरीको तालिम प्राप्त कुकुर जोजोले जेब्रा झोलाको भित्र खुट्टा र टाउको फेला पार्यो ।

No description available.

कुकुरले सुँघ्दै जाने क्रममा प्लाष्टिकमा बेरेर फालेको अवस्थामा स्वर्गद्धारी मार्गबाट फेला पारेको हो ।

घटनास्थलबाट प्रहरीले सेतो बोराको नाम्लो समेत बरामद गरेको छ । अन्तै हत्या गरेर त्यहाँ ल्याएर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

लोकपथसँगको कुराकानीका क्रममा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘हत्याको प्रकृति हेर्दा शव अन्य ठाउँबाट नाम्लोले बोकेर त्यहाँ ल्याएको जस्तो देखिन्छ, शवको खुट्टा र टाउको पुरै काटिएकोले यसरी हत्या गर्ने कोहि मासु पसलमा काम गर्ने मानिस हुनसक्ने हामीले अनुमान गरेका छौँ ।’

शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाईएको छ ।

लोकपथसँगको कुराकानीका क्रममा एसएसपी थापाले अहिले मृतकको पोस्टमार्टम भईरहेको जानकारी दिए ।

घटनास्थलमा केहि क्लू भेटिएको तर अनुसन्धानको क्रममा रहेकोले केहि भनिहाल्न नसकिने उनले बताए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार अहिले शवको सनाखत गर्ने प्रयास भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?