उद्यान सञ्चालनको ठेक्का तोडियो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा रहेको स्थानीय उद्यान सञ्चालनको ठेक्का तोडेको छ । नगरपालिकासित गरिएको सम्झौताअनुसार उद्यान सञ्चालन नभएपछि ठेक्का सम्झौता तोडिएको हो ।

नगरपालिकाले विसं २०६८ मा १० वर्षका लागि उद्यान सञ्चालनको जिम्मा रवि केसीलाई ठेक्कामार्फत दिएको थियो । नगरपालिकाको कार्यपालिका बैठकबाट केसीसितको सम्झौता तोड्ने निर्णय गरिएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय पार्क सम्झौताअनुरुप सञ्चालन नभएको र व्यवस्थितरूपमा सञ्चालनका गर्न ठेक्का प्रक्रिया तोडिएको बताए ।

“पार्कको ठेक्का तोडिएको छ, अब नगरपालिकाले व्यवस्थितरूपमा पार्क सञ्चालन गर्छ”, उनले भने । केसीले विसं २०६८ मा वार्षिक ७० हजार रुपैयाँमा वर्षेनी पाँच प्रतिशत रकम बढ्ने गरी उद्यानलाई भाडामा लिएका थिए । उद्यानभित्र होटललगायतका संरचना निर्माण गरी सञ्चालन गरिएपछि नगरपालिकाको आलोचना हुन थालेको थियो ।

पार्किङ शूल्क संरचना निर्माणलगायतका गुनासो नगरपालिका कार्यालयमा आएपछि नगरपालिकाले गत जेठमा प्रशासकीय अधिकृत सुभाष अधिकारी र नगरपालिकाका वातावरण अधिकृतलाई उद्यान सञ्चालनको अवस्था अध्ययन गर्ने जिम्मेवारी दिएको थियो । दुवै जनाले पार्क सञ्चालनको अवस्था अध्ययन गरी कार्यालयमा पेश गरेको अध्ययन प्रतिवेदनका आधारमा कार्यपालिका बैठकबाट निर्णय गरी सम्झौता तोडिएको छ ।

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले कार्यालयमा आएका गु्नासोका आधारमा सञ्चालनको अवस्था अध्ययन गरी सम्झौता तोडिएको जानकारी दिए। पार्किङ शुल्क संरचना निर्माणलगायतका विषयमा कार्यालयमा गुनासो आएका थिए । त्यसका आधारमा अध्ययन गर्दा सम्झौताअनुसार सञ्चालन भएको देखिएन उनले भने, “त्यसपछि कार्यपालिका बैठकबाट निर्णय गरी ठेक्का तोडिएको छ ।”

नगरपालिकाले ठेक्का तोडिएपछि उद्यानलाई स्तरोन्नति गरी सञ्चालन गर्ने योजना रहेको उनले बताए । नगरपालिकाले ठेक्का सम्झौता रद्द गरेपछि ठेक्कामा लिने केसी भने असन्तुष्ट भएका छन् । केसीले सम्झौता तोडिएपछि क्षतिपूर्ति दिनुपर्ने मागसहित नगरपालिका कार्यालयमा निवेदन दिएका छन् ।

नगरपालिकासित प्रवेश शुल्क पाँच रुपैयाँ लिने लगायतका शर्तहरु राखेर सम्झौता गरिएको थियो । भीमदत्त–१८ मा पर्ने उद्यान त्यसअघि नगरपालिकाले नै सञ्चालन गर्दै आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?