8 August, 2020 10:38 pm

अबको ४ दिनमा कोरोनाविरुद्धको भ्याक्सिन आउने


प्रकाशित मिति : 8 August, 2020 10:38 pm

काठमाडौं । हालसम्म कुनै औषधि तथा खोपको विकास नभइसकेको कोरोनाभाइरसको खोप (भ्याक्सिन) सार्वजनिकको तयारी भएको छ । रुसको मस्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको भ्याक्सिनले बुधबार अर्थात अबको ४ दिनपछि स्वीकृति पाउने बताइएको हो ।

रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइने बताए । गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्काेले अक्टुुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए ।

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको रुसी सञ्चारमाध्यम आरटीमा प्रकाशित समाचारमा उल्लेख छ । विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित शीर्ष ४ देशमध्ये रुस एक हो । ९ लाख नजिक संक्रमित छन् ।

एडेनोभाइरस नामक कमन कोल्डमा आधारित रहेर रुसले भ्याक्सिन विकास गरेको हो । भ्याक्सिनको अध्ययनका लागि लगानी गरेको रुसको सोभर्जियन वेल्थ फन्डका प्रमुख किरिल डिमिट्रिइभले गत साता भ्याक्सिन निर्माणको प्रक्रियालाई अन्तरिक्ष यान बनाउने प्रतिस्पर्धासँग जोडेका थिए । रुसले भ्याक्सिनको विकास गरेको बताइरहँदा कतिपय पश्चिमा देशले भने यसको वैधतापनि प्रश्न उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस