टर्किस एयरलाइन्सका नेपाल प्रतिनिधिले मानेनन् क्वारेन्टाइनको नियम

काठमाडौं । कोरोना भाइसको जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले गत चैतदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान भदौ १ देखि खुल्ने तयारी रहेको छ । त्यसका लागि एयरलाइन्स कम्पनीहरुले आन्तरिक तयारी गरिरहेका छन् । सोही तयारीका लागि टर्किस एयरलाइन्सका प्रबन्ध निर्देशक अब्दुल्ला टुयुन्सर क्यासीसी पनि काठमाडौं आइपुगेका छन् । दुई दिनअघि मात्रै उनी काठमाडौं आइपुगेका हुन् ।

उनी काठमाडौं आएपनि उनले सरकारले बनाएको १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम उलंघन गरेका छन् ।

टर्कीजस्तो कोरोना प्रभावित मुलुकबाट काठमाडौं ओर्लिपछि उनी विभिन्न भेटघाटदेखि बर्डथे पार्टीमा समेत सहभागी भएको निकटस्थ सूत्रले जनाएको छ । ‘उहाँ काठमाडौं आएर निष्फिक्री घुमघाममा व्यस्त हुनुहुन्छ । उहाँ आफू क्वारेन्टिनमा बस्नु भएको छैन । अरुले भन्ने आँट पनि गर्न सकेको छैन’, टर्किस एयरलाइन्सका एक अधिकारीले भने ।

टर्कीमा हाल २ लाख ३८ हजार बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । यो भनेको टर्की विश्वकै संक्रमणको हिसावले १७ औं स्थानमा छ । यस्तो मुलुकबाट आएका उनी क्वारेन्टिन नियम उलंघन गर्दै जथाभावी हिँडेका हुन् । उनीसँगै केही सहयोगी समेत आएकाले उनीहरुले पनि क्वारेन्टिन नियम उलंघन नगरेको एयरलाइन्स स्रोतले जनाएको छ ।

भदौ १ देखिहुने हवाई उडानका लागि १३ वटा वायुसेवा प्रदायक कम्पनीले सरकारसँग अनुमति माग गरेका छन् ।

जसमा अन्तर्राष्ट्रिय बिमान कम्पनी टर्किस एयर समेत रहेको छ ।

सारभरका ३ सय ४ वटा गन्तव्यमा उडान भर्ने टर्किस नेपाललाई युरोपसँग जोड्ने एकमात्र एयरलाइन्स हो । सोही एयरलाइन्सका नेपाल प्रतिनिधि समेत रहेका क्यासीसीले क्वारेन्टिन नियम समेत पालना नगर्नुले सो एयरलाइन्सले यात्रु सुरक्षा मापदण्ड कसरी पालना गर्ला भन्ने प्रश्न समेत उठेको छ । यस विषयमा प्रतिक्रियाका लागि क्यासीसीलाई सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?