नेकपा विवाद : प्रचण्ड निवासमा नेपाल, खनाल, बादल र नारायणकाजी श्रेष्ठबीच के भयो सल्लाह ?

काठमाडौं – गत असार १० गते यता पटक पटक गरी ८ औँ पटकसम्म स्थगित गरीएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक साउन १३ गते अर्थात् भोली बस्दैछ । पार्टीमा देखिएको आन्तरीक कलह सतहमा देखिन थालेको ४ महिना पूरा भईसक्दा कुनैपनि निष्कर्ष ननिस्कनू र पाँचौ स्थायी कमिटी बैठक यहि किचलोका कारण रोकिईरहनुले जनतामा नराम्रो प्रभाव पर्नसक्ने भन्दै पछिल्लो समय पार्टीको दोस्रो वरीयताका नेताहरु भेटघाट र लामो छलफलमा जुटेका छन् ।

यसैबीच भोली (साउन १३) गतेको स्थायी कमिटी बैठक कुनैपनि बहानामा नरोक्ने र यदि पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा आएनन् वा सहमतिमा आएनन् भने बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने ओलीइतर समूहले निर्णय गरेको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज (सोमबार) बसेको बैठकले ओलीले कुनै पद पनि नछोड्ने र पार्टी विवाद व्यवस्थापनका लागि पहल पनि नगर्ने अवस्था दोहोर्‍याईरहेका कारण पार्टी विवाद जटिल बनाएको भन्दै यस्तो निर्णय गरेको हुन् । बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

यसअघि आजै सोमबार बिहान प्रचण्डले गृहमन्‍त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल) सँग पनि छलफल गरेका थिए।

“बहुमत सचिवालय सदस्यले स्थायी कमिटीको बैठक नरोक्ने र बहुमतकै आधारमा निर्णय गरेर जाने तयारी गरेपछि भोलीको स्थायी कमिटी बैठक स्थगित हुँदैन । हामीले पार्टी अध्यक्ष एवम् प्रधानमन्‍त्री ओलीकै आग्रहमा पटकपटक स्थायी समिति स्थगित गरेका हौँ । छलफलमा नै नबस्दिने प्रवृतिले समस्या पारेको हो ।” प्रचण्ड निवासमा छलफलपछि एक सचिवालय सदस्यले लोकपथलाई बताए ।

यसअघि ओलीले विवाद साम्य पार्ने अस्त्रको रुपमा ‘अर्ली महाधिवेशन’ को कार्ड फ्याँकेर निर्मम अवस्थाबाट केहि समय आफ्नो कुर्सी बचाएका थिए ।

अर्ली महाधिवेशनको प्रस्तावपछि केहि साम्य जस्तो देखिएका प्रचण्डको शितलनिवास र बालुवाटारको दौडादौड बढेपछि प्रचण्डसँग चिढीएका नेता नेपाल पनि आजको बैठकमा ‘बहुमत सचिवालय सदस्यको निर्णयको आधारमा अघि बढ्ने’ निर्णयमा सहमत छन् ।

यसअघि गत साउन ९ गते ओली र प्रचण्डबीच छलफल भएको थियो।

प्रचण्डले पुष्पलाल स्मृति दिवसमा ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा ‘एमाले पार्टी’ दर्ताको निवेदन परेको दाबी गर्दै उनले सार्वजनिक कार्यक्रममा नै भनेका थिए, “अहिले देशभरी नै तपाईहरुले देखिराख्नु भएकै छ । मुर्दावाद र जिन्दावादका नारा । हामी पार्टीमा छलफलमा छौँ । पार्टीलाई कसरी एकतावद्ध गर्ने पार्टीलाई कसरी जोगाउने भन्नेमा हामी छौँ तर देशभरी जुलुस भएको छ । देशभरीका साथीहरुले हामी के गर्ने भनेर सोधिरहेका छन हामीले धैर्य लिनुहोस् अहिले केही गर्न पर्दैन पार्टी एकताको पक्षमा उभिनुहोस् भनेर भनिरहेका छौँ । तर त्यस खालका प्रचारपनि भइरहेको छन्।’’

यसबीचमा जारी स्थायी कमिटी बैठक स्थगित गरी ‘वान टु वान’ वार्ता भएतापनि विवादको समाधान भने निस्किएको छैन ।

नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पद छाड्न दबाब दिएपछि त्यस यताका बैठक लगातार स्थगित भईरहेको छ ।

नेताहरुको आजको बैठकको निष्कर्ष र अडान कायमै रहने हो भने भोलीको बैठक सञ्चालन हुनेमा शंका छैन । तर यसअघि पनि भएका विभिन्न सहमती क्षणभरमा नै ‘ब्रेक’ भएका उदाहरण भने प्रशस्तै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?