फरार दुई प्रतिवादी कारागार चलान

दमौली । वन मुद्दाका दुई फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–६ ढुङ्गागाडे बस्ने ६७ वर्षीय भीमबहादुर अधिकारी र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ४५ वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई आइतबार घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षत्रीले जानकारी दिनुभयो । भीमबहादुरलाई जिल्ला अदालत तनहुँको विसं २०७० चैत १२ गतेको फैसलाले तीन महिना कैद र १९ हजार ७१३ रुपैयाँजरिवाना तथा अशोकलाई विसं २०७२ भदौ २३ गतेको फैसलाले दुई महिना आठ दिन कैद र रु १५ हजार जरिवानाको फैसला भएको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजी कार्यलाई तीव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?