मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ’

झापा । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतवारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए।

गत शुक्रवार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड–१९ को सङ्कमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का व्याप्त छ । आइतवार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिए ।

हालसम्म मेचीनगरमा ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ भने ४६ जना निको भएर आइसकेको र २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक बरालले ‘मास टेस्टिङ’लाई आगामी दिनमा जारी राखिने बताए। अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने भएको छ । यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?