महिला नेतृ स्व थापाको महत्वपूर्ण योगदान : मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली महिलाहरुको राजनीतिक चेतना वृद्धिमा कम्युनिष्ट पार्टीकी अभिभावक बालकुमारी थापाको योगदान महत्वपूर्ण रहेको बताए ।

भूमिगतकालमा नेपालका कम्युनिष्ट नेताहरुलाई आश्रय दिने तथा अखिल नेपाल महिला सङ्घको गठनमा महत्वपूर्ण भूमिका खुलेका उनको १३औँ दिनको पुण्यतिथिका अवसरका आज थापा निवास पुगेका मुख्यमन्त्री पौडेलले स्व थापाले चार पटकसम्म अनेम सङ्घको जिल्ला अध्यक्ष भएर मकवानपुरे महिलाको राजनीतिक चेतना वृद्धि तथा उत्पीडनका विरुद्धमा आवाज बुलन्द गर्न उत्प्रेरित गर्नुभएको बताए। उनले नेकपालाई हालको स्वरुपमा ल्याउन स्व थापाको उल्लेख्य योगदान रहेको चर्चा गरे ।

मुटुरोगले ग्रस्त ७६ वर्षीय थापाको गत असार २९ गते निधन भएको थियो । थापाले आफ्नो घरलाई विसं २०३५ देखि प्रजातन्त्रको स्थापनासम्म पार्टीको गतिविधि सञ्चालन गर्ने सुरक्षित आश्रय थलोको रुपमा प्रयोग गरेका थिए । नेकपाका अग्रज नेताहरुका अनुसार तत्कालीन नेकपा मालेले उनको घरमा नै विसं २०३६ को जनमतसङ्ग्रहमा सहभागी नहुने निर्णय गरेको थियो ।

नेकपा मालेका तत्कालीन महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकमा जननेता मदन भण्डारीलगायतका नेताहरु सहभागी थिए । भूमिगत समयमा उहाँको घरमा भएको पार्टीको बैठकबाट आन्दोलनको रणनीतिहरु बन्थे, महत्वपूर्ण निर्णयहरु हुन्थ्यो । अनेमसङ्घको स्थापना उनकै घरमा भएको नेताहरु बताउँछन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?