काम खोज्ने मजदूरको स्वाब सङ्कलन

नेपालगञ्ज । नेपालगञ्जको त्रिभुवन चोकमा दैनिक काम खोज्न जम्मा हुने मजदूरको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरिएको छ ।

बिहीवारबाट स्वाब सङ्कलन शुरु गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए । कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र समाजका अध्यक्ष नन्दलाल वैश्यलगायतको उपस्थितिमा स्वाब सङ्कलन गरिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए। मजदूरसँगै त्रिभुवन चोक आसपासका पसल र घरका सदस्यले समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने बताइएको छ । उनका अनुसार, ३६५ जनाको नाम दर्ता गरेकोमा बिहीबार १३० जनाको स्वाब सङ्कलन गरिएको छ ।

भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

यहाँस्थित भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई बिहीवार अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनीमाथि अस्पतालको सामान खरिदमा रु १६ लाख १३ हजार ७५ कमिशन लिएको अभियोग लगाइएको छ ।

आयोग नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर खनाललाई पक्राउ गरिएको छ । आयोगको टोलीले केही दिन अघि नेपालगञ्जस्थित घरेलु तथा साना उद्योग कार्यालयका एक अधिकृतलाई रु ९६ हजार घुससहित पक्राउ गरेको थियो ।

यसैबीच, बाँके प्रहरीले प्रतिबन्धित औषधि कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले गए राति डुडुवा गाउँपालिका–१ पाजाबाट ६५ सिसी कोरेक्ससहित सोही स्थान बस्ने ३० वर्षीय आशिष अहिर र २७ वर्षीय राजकुमार यादवलाई पक्राउ गरेको हो । भारतबाट ल्याइएको उक्त प्रतिबन्धित औषधि कोरेक्स नष्ट गरी आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताइ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?