लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले यसरी गर्दैछ चेकजाँच

काठमाडौं । गएरातिबाट लकडाउन खुला भएसँगै राजधानीका सडकहरुमा सवारी चाप बढेको छ ।

१ सय २० दिन लामो लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढेको हो । सरकारले लक डाउन खुला गरेसँगै छोटो दुरीका सबै सवारी साधन सञ्चालनमा रहेका छन् । बुधबारबाट जोर विजोर प्रणाली समेत हटेको छ । सवारी चाप बढेसँगै लकडाउन अघिकै अवस्थामा चेकजाँच गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्यकामा ठाउँठाउँमा चेकजाँच सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए । दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन सहज बनाउने हिसाबले पूर्ण रुपमा ट्राफिक नियम पालना अभियान सुरु गरिएको उनले बताए । संक्रमणको जोखिमकाबीच सार्वजनिक सवारी समेत सञ्चालना आएको अवस्थामा सामाजिक दुरी कायम भए÷नभएको, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएको÷नअपनाएको पनि चेकजाँच भइरहेको उनले बताए । ड्युटीमा खटिएका ट्राफिक प्रहरी समेत सामाजिक दुरी कायम गरेर काम गरिरहेको उनले बताए ।

प्रमुख ढकालले मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन पनि आग्रह गरेका छन् । ट्राफिक नियम उल्लंघन गरी मापसे सेवन गरी सवारी सञ्चालन गरेको पाइए कडा कारबाही गरिने उनले बताए । मापसे सेवन गरेको आशंका लागेमा स्वास्थ्य संस्थामा लगेर मेडिकल परीक्षण गरी र कानून अनुसार कारबाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?