पछिल्लो २४ घण्टामा एक विदेशीसहित २ जनाको मृत्यु, मृतक संख्या ४२ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा १ नेपाली र १ विदेशी नागरिक रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा  गौतमले बताए । उनमा उच्च ज्वरो र स्वास्स प्रश्वास सम्बन्धि समस्याका कारण साउन २ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भ्यान्टिलेटरमा राखि उपचार गरिरहेको अवस्थामा साउन ६ गते मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै अर्की एक चिनियाँ महिलाको पनि कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुने ४९ वर्षीया ती महिला पोखरामा काम गर्दै आएकी थिइन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पताल भर्ना गरिएको थियो । गत साउन २ गते थप उपचारको लागि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल काठमाडौं ल्याइएको थियो । उनको कोरोना परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको थियो । थप उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा आज साउन ७ गते मृत्यु भएको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?