निष्कासन कार्य बन्द गर्नुपर्ने

काठमाडौं । एम्नेस्टी इन्टरनेशनल नेपालले चेपाङलाई उनीहरूको बासस्थानबाट निष्कासन गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने जनाएको छ । एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाले आज जारी गरेको प्रेस विज्ञप्तिमा चेपाङका दशवटा घरलाई ध्वस्त पारिएको घटनामा जिम्मेवारलाई जवाफदेही बनाउनुपर्ने उल्लेख छ ।

युनेस्को विश्व सम्पदा क्षेत्रका रूपमा सूचीकृत नेपालको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रमा २०५३ सालदेखि बसोबास गर्दै आइरहेका चेपाङका दुई घरमा आगो लगाउनाका साथै निकुञ्जको हात्ती प्रयोग गरी अन्य आठवटा घर ध्वस्त पारिएको जनाइएको छ ।

सीमान्तकृत जनजाति समुदायमा पर्ने ती चेपाङ परिवारको उक्त विध्वंशका क्रममा आवास मात्रै नभएर पैसा, परिचयपत्रका साथै अन्य वस्तु पनि गुमेको छ । “चेपाङ समुदायका मानिसहरूलाई संरक्षण गरिनुपर्दछ, उनीलाई आफ्नो आवासबाट निष्कासन गर्ने अन्य कुनै पनि प्रयासहरूलाई तत्काल रोकिनु पर्दछ”, एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक थपलियाले भने, “आफ्नो आवासबाट जबर्जस्ती निष्कासित गरिएका यी मानिसलाई पर्याप्त वैकल्पिक आवास र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्दछ, साथै यी जबर्जस्ती निष्कासनका कार्यहरूमा जिम्मेवार पीडकलाई जवाफदेही बनाइनुपर्दछ ।”

निकुञ्जका प्रमुख संरक्षण अधिकृतले भने चेपाङ समुदायका मानिसलाई जबर्जस्ती निकाल्ने कार्य नगरिएको र सात दिनभित्र उनीहरूले ओगटेको मध्यवर्ती वन क्षेत्रको अतिक्रमित क्षेत्र खाली गर्नका लागि भनिएको बताएका छन् । माडी नगरपालिकाका नगरप्रमुखले साउन ५ मा एउटा विज्ञप्ति नै जारी गरी निकुञ्जका अधिकारीले कुनै समन्वयबिना एकतर्फी रूपमा गरेको कदमको भर्त्सना गर्दै सङ्घीय सरकारलाई पीडित परिवारको यथाशीघ्र पुनःस्थापना र क्षतिपूर्तिका लागि उचित कदम चाल्न मागसमेत गरेका थिए ।

आफ्नो घर गुमाएका चेपाङ समुदायका सदस्यहरु अहिले नजीकैको स्कुलको होस्टलमा अस्थायी रूपमा बसिरहेका छन् । उक्त क्षेत्रमा रहेका आफ्नो समुदायका अन्य चेपाङ जातिले पनि यही दुर्गति भोग्नुपर्ने हो कि भन्ने त्रासमा रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?