मिर्गौलापीडितको उपचारका लागि सहयोग जुट्दै

दमौली । दुबै मिर्गौला फेल भएर डायलासिस गराइरहेका व्यास नगरपालिका–४ घर भई हाल चितवन बस्ने राजु श्रेष्ठको उपचारका लागि हालसम्म १९ लाख सङ्कलन भएको छ । सहयोग जुट्ने क्रम जारी छ ।

दमौलीमा लामो समय भिडियोग्राफरका रुपमा काम गर्दै आएका श्रेष्ठको एक्कासि मिर्गौलामा समस्या देखिएपछि उनको उपचारका लागि देश तथा विदेशबाट रकम सङ्कलन अभियान शुरु भएको छ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक रकम नभएपछि साथीभाइसँग अनुरोध गर्दा देश विदेशबाट रकम आउन थालेको श्रेष्ठले बताए।

सोमबार दमौलीका स्व अभिमन्यु प्रधान र शान्ताको स्मृतिमा उनका परिवारले श्रेष्ठको उपचारका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो । आमाबुबाको स्मृतिमा छोरीहरु मीना, सुनिता, बिनिता, नम्रता, छोराहरु राजु र सञ्जय प्रधानले श्रेष्ठको उपचारका निम्ति सहयोग गरेका हुन् । त्यस्तै पोखराका नवीन नापितबाट ३६ हजार रुपैयाँ र क्यानडामा बस्दै आएका दमौलीका करुण गौतमबाट ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ । केही दिनअगाडि मात्रै दमौलीमा रहेका विभिन्न व्यक्तिको पहलमा सङ्कलन भएको चार लाख ५९ हजार छ सय रुपैयाँ पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । दमौलीसहित नेपालका विभिन्न जिल्ला र जापान, कतार, हङकङ, बेल्जियमा बसोबास गर्दै आएका शुभेच्छुकबाट सङ्कलित रकम श्रेष्ठलाई प्रदान गरिएको रकम सङ्कलनकर्ता वीरेन्द्र घर्तीले जानकारी दिए । दुःखमा परेकालाई सहयोग गर्नु जति ठूलो मानवीयता अरू केही नहुने भन्ने सोचका साथ सबै साथीभाइबीच हातेमालो गरेर सहयोग सङ्कलन गरिएको उनले बताए ।

त्यस्तै श्रेष्ठको उपचारका लागि दमौलीस्थित लायन्स क्लब अफ तनहुँ दमौलीबाट ४० हजार रुपैयाँ, जनभावना नेवाः खल मिसा पुचः बाट ४० हजार रुपैयाँ र दमौलीमा सङ्कलन गरिएको एक लाख ११ हजार पाँच सय ४७ रुपैयाँ प्रदान गरिएको थियो । त्यसैगरी श्रेष्ठको उपचारका लागि बेलायतबाट पाँच लाख ६८ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । केही महिनाअगाडि मिर्गौलामा समस्या देखिएपछि चितवनस्थित मेडिकल कलेजमा जाँच गरी औषधि सेवन गरेका श्रेष्ठको औषधिले काम नगरेपछि थप जाँच गर्दा दुबै मिर्गौला फेल भएको पुष्टि भएको थियो । “दुबै मिर्गौलामा समस्या आएपछि चिकित्सकहरुले नियमित डायलासिसलगायत उपचार प्रक्रिया शुरु गर्न सुझाव दिए पनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो, अहिले आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ”, उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?