गण्डकी । आवश्यकताअनुसार कृषकलाई उन्नत जातका बिरुवा प्रदान गर्ने लक्ष्यका साथ डिभिजन वन कार्यालयले पोखरा महानगरपालिका–१६ मा डिभिजन वन कार्यालयद्वारा सञ्चालित महेन्द्र गुफा नर्सरी परिसरमा ‘हाइटेक’ निर्माण गरिएको छ ।
हाइटेक नर्सरी मर्मत तथा स्तरोन्नति कार्यक्रमअन्तर्गतको दुई लाख ४० हजार रुपैयाँको लागतमा ९ देखि १२ मिटरको तापानुकूलित हाइटेक निर्माण गरिएको हो । नवनिर्मित हाइटेकभित्र आवश्यकताअनुसारका विभिन्न जातका बीउ उमार्ने र उम्रेका बिरुवा नर्सरीमा हुर्काएर उपभोक्तालाई निःशुल्क वितरण गरिने डिभिजन वन अधिकृत रामकाजी श्रेष्ठले जानकारी दिए।
हाइटेकभित्र बीउ जमाउँदा पुतलीलगायत विभिन्न जातका कीटाणुको प्रकोप कम हुनुको साथै असिनाले समेत कुनै नोक्सान गर्दैन । यसले आगामी वर्षमा आवश्यकताअनुसार विभिन्न उन्नत जातका गुणस्तरीय बिरुवा उत्पादनमा सहयोग पुग्ने उनले बताए । नर्सरीमा उत्पादित बिरुवा यस वर्ष असार १५ गतेदेखि कृषकलाई निःशुल्क वितरण गरिएको जानकारी दिए । उहाँका अनुसार यस वर्र्ष सबैभन्दा बढी डाले घाँसका बिरुवाको माग भएको थियो ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिनका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बजारबाट गाउँ फर्केका प्रत्येक व्यक्तिले बाँझो जग्गामा उन्नत जातका डाले घाँसका बिरुवा रोप्नेको सङ्ख्यामा वृद्धि भएपछि बिरुवाको माग बढेको हो । असारको दोस्रो सातादेखि नर्सरीमा बिरुवा लिन आउने सर्वसाधारणको भीड नै लागेको थियो । यस वर्ष नियमित पानी परेको कारण बिरुवा रोप्नका लागि पनि उपयुक्त मौसम भएको छ ।
नर्सरीमा चाँप, चिउरी, अमला, अशोका, बडहर, इपिलइपिल, निमारो, कपुर, लप्सी, कफी, तेजपात, टिमुर, धुपी, नारेश्वर, बैस, गुल्मोहोर, खयरलगायत विभिन्न जातका ६० हजार बिरुवा उत्पादन गरिएको सहायक जिल्ला वन अधिकृत गोविन्द थापाले बताए । वन मन्त्रालयद्वारा प्रतिबिरुवा उत्पादनका लागि १० रुपैयाँ उपलब्ध गराउँदै आएको बताउँदै उनले यस वर्र्ष बिरुवा उत्पादनमा छ लाख रुपैयाँ भन्दा बढी लगानी भएको जानकारी दिए ।
डिभिजन वन कार्यालयले प्रत्येक वर्ष बिरुवा उत्पादन गरेर सामुदायिक वन तथा निजी वनका उपभोक्तालाई निःशुल्करुपमा वितरण गरे पनि रोपिएका बिरुवाको उचित संरक्षण हुन नसक्दा हरियाली प्रवर्द्धनमा सोचेजस्तो उपलब्धि हुन सकेको छैन । सानो बिरुवा रोप्नुभन्दा हुर्काएर रुख रोप्ने अभियान सञ्चालन गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको धारणा छ । “प्रत्येक वर्र्ष लाखौँ बिरुवा रोपिन्छ”, तर संरक्षणको अभावमा कमै हुर्कने गरेका छन्”, उनले भने, “नर्सरीमा हुर्केका बोट लगाउने हो भने लक्ष्यअनुसारको उत्पादन लिन सकिनेछ ।”
यतिबेला वृक्षरोपण गर्ने उपयुक्त समय हो । सामुदायिक वन क्षेत्रमा रहेका खाली स्थान एवं शहरी क्षेत्रका सडक पेटी तथा प्रत्येक घरमा वृक्षरोपण अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिँदै वृक्षरोपण गर्दा बजारको आवश्यकता र भौगोलिक अवस्थालाई समेत ध्यान दिनु अपरिहार्य रहेको उहाँको भनाइ छ ।
विशेष दिन, राष्ट्रिय व्यक्तित्वको स्मृति दिवसमा तीनै तहका सरकार एवं सङ्घ संस्थाद्वारा गरिने वृक्षरोपणमा समेत डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्दै आएको छ । वृक्षरोपण गर्नु वातावरणीय हिसाबले आफैँमा महत्वपूर्ण भए पनि रोपिएका बिरुवाको संरक्षण एवं अहिलेसम्म रोपिएका बिरुवाको अवस्था एवं प्राप्त उपलब्धिको तथ्याङ्क सङकलन गरिनुपर्ने बेलासमेत आएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया