राँझा । बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाका तीन टोल जोखिममा परेका छन् । कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार रोहिणी र डुडुवाखोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नं ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन् । खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धार फेर्दा बर्सेनि ठूलो क्षति हुँदै आएको छ ।
डुडुवा र रोहिणीखोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ ।
केही दिनयता निरन्तर परेको पानीले कोहलपुर–१२ स्थित जानकीनगर टोल रोहिणीखोलाको तीव्र कटानले जोखिममा परेको स्थानीयवासी एवं कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिए। लगातारको वर्षाका कारण रोहिणी खोलामा आएको बाढीले करिब १५ मिटर कटान गरी बहाव परिवर्तन गरी बस्तीतिर फर्केकाले जोखिम बढेको वलीले बताए। तीन मिटरको चौडाइमा रहेको रोहिणीखोलाले कटान तीव्र पार्दै अहिले १५ मिटरभन्दा बढी फैलिएको उनको भनाइ छ ।
खेतबारी बगाउँदै बस्तीतिर खोला सोझिएको स्थानीय खेमराज शर्माले बताए । उनका अनुसार खोलाको कटानबाट जोगाउनका लागि तत्काल पहल गर्न नसकिए ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ । रोहणी र डुडुवाखोलाको तीव्र कटानका कारण जोखिममा परेका बस्ती जोगाउनका लागि तत्काल अस्थायीरूपमा तटबन्ध निर्माणकार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङले जानकारी दिए।
उनले नदीले कटान गरेको स्थानको स्थलगत अवलोकन गरी कटानलाई तत्कालका लागि रोक्न जिल्ला विपद् व्यवस्थापन समितिबाट बोरी र जालीको व्यवस्था गरी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको पहलमा तटबन्ध लगाउन शुरु गरिएको बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया